एकै वर्ष साढे २४ हजारभन्दा बढी सम्बन्धविच्छेद डिभोर्सका घटना भएका छन् । गत आर्थिक वर्ष २०८१र८२ मा उक्त संख्यामा नेपालमा सम्बन्धविच्छेद भएका हुन्, जुन हालसम्मकै सबैभन्दा उच्च हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार, २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल २४ हजार ५२२ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएका छन् ।२०८२ को वैशाख, जेठ र असार गरी तीन महिनामा मात्र ६ हजार ४९५ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा नेपालमा २३ हजार ३५५ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएको विभागको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७९र८० देखि नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी सम्बन्धविच्छेदका घटना दर्ता हुँदै आएका छन् । विभागको तथ्यांकअनुसार, २०४१ सालसम्म नेपालमा सम्बन्धविच्छेदको घटना दर्ता भएको देखिँदैन । २०४२ सालमा २१ वटा सम्बन्धविच्छेदका घटना भएका थिए । उक्त वर्ष १४ हजार ७८६ वटा विवाह दर्ता भएका थिए ।