मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ ।  मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताइन् । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो ।

यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन् । नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा।सङ्गीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिएका छन् ।