कोसी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको विनियोजित बजेटमध्ये ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
प्रदेश सरकारका आर्थिक सल्लाहकार डा। मोहन सुवेदीका अनुसार, यो खर्च प्रतिशतका आधारमा संघीय सरकारको खर्च क्षमताभन्दा धेरै हो । सरकारले राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा ७।६ प्रतिशत वृद्धि गरेको छ ।
पूर्वाधार क्षेत्रतर्फ एक वर्षमा कोसी सरकारले ११४ किलोमिटर सडक कालोपत्रे गरेको छ । यस्तै, ५२ किलोमिटर नयाँ ट्र्याक खोलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सडक ग्राभेल १५२ किलोमिटर गरिएको छ, १८ वटा पक्की पुल र १६ वटा झोलुंगे पुल निर्माण भएका छन् । साथै, एक दर्जनभन्दा बढी प्रहरी कार्यालय भवन निर्माण तथा मर्मत कार्य सम्पन्न भएको बताइएको छ ।
पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार मान्दै प्रदेश सरकारले केही दीर्घकालीन योजना अघि सारेको छ । स्विस सरकार र स्थानीय तहको सहकार्यमा दुई अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको र यसअन्तर्गत मुन्दुम ट्रेल, चियाबारी, लालीगुराँस र फाल्गुनन्द पदमार्ग निर्माण हुनेछन् । यो परियोजना २०८५ सालभित्र सम्पन्न हुने लक्ष्य रहेको छ । यस वर्षलाई ‘पर्यटन वर्ष’ घोषणा गर्दै भारतीय पर्यटकलाई सहज प्रवेशका लागि नाकामा स्टिकर प्रणाली लागु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले नागरिक सेवामा सुधारका लागि बर्सौंदेखि लाइसेन्स पास गरेर पनि कार्ड नपाउने समस्या अन्त्य गर्दै अब कर तिरेपछि तुरुन्तै अस्थायी लाइसेन्स दिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् ।




















