इजरायली सेनाले विमानबाट गाजा पट्टीमा मानवीय सहायता सुरु गरेको छ । धेरै हप्ता देखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीको समस्या पछि सेनाले यो कदम चालेको हो । हवाईजहाजबाट खसाइएको सहायतामा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू भएका प्याकेज आदि भएको आइतबार बिहानको एक विज्ञप्तिमा इजरायल रक्षा बल आईडीएफले भनेको छ ।
यसअघि इजरायलले संयुक्त राष्ट्रसङ्घ ९युएन०का गाडीहरूको लस्करलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो । महिनौँदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरू सामूहिक भोकमरीको चपेटामा परेका छन् ।
भोकमरीका कारण केही दिनयता दिनहुँ मानिसको मृत्यु भइरहेको खबर आएको थियो । यसैबिच इजरायलले जानाजानी भोकमरी फैलाउन खोजेको आरोप अस्वीकार गरेको थियो । आफ्नो एउटा पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदम चाल्ने बारेमा जानकारी दिएको थियो ।
‘खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको हो । त्यसकारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र सहायता हमाससम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ’ पोस्टमा भनिएको छ ।




















