थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीले थाइल्यान्ड र कम्बोडियाबीचको झडप युद्धतर्फ अघि बढ्न सक्ने चेतावनी दिएका छन् । बिहीबार भएको झडपमा दुवै देशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दशौँ हजारलाई विस्थापित गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले लडाइँमा अब भारी हतियारहरूको प्रयोग भइरहेको र यो सीमामा १२ स्थानमा फैलिएको बताएका छन् ।
थाइल्यान्डले कम्बोडियामाथि सर्वसाधारण क्षेत्रमा गोलीबारी गरेको आरोप लगाएको छ । आफ्ना रकेटहरूको दायराभित्र पर्ने सबै गाउँहरू खाली गराएको छ । कम्बोडियाले आफ्नो तर्फबाट थाइल्यान्डमाथि क्लस्टर म्युनिसन प्रयोग गरेको आरोप लगाएको छ । क्लस्टर म्युनिसनहरू विश्वका धेरैजसो ठाउँमा प्रतिबन्धित छन् किनभने यिनले सर्वसाधारण जनतामा अन्धाधुन्ध प्रभाव पार्छ । तर, थाइल्यान्डले यी आरोपहरूको जवाफ दिएको छैन ।
यसैबीच, थाइल्यान्डका विदेशमन्त्रीले रोयटर्स समाचार एजेन्सीलाई द्वन्द्वमा तेस्रो पक्षको मध्यस्थताको आवश्यकता नभएको बताए । यद्यपि, विश्व नेताहरूले तत्काल युद्धविरामको अपिल गरिरहेका छन् ।




















