यात्रुहरूलाई लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाको एक पानी जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको छ । उद्धार टोलीले उक्त जहाजबाट ५६८ जना यात्रुको उद्धार गरेको छ । तीन यात्रुको मृत्यु भएको छ । आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यसक्रममा केही यात्रु ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए ।
आइतबार दिउँसो मानाडोतर्फ जाँदै गरेको केएम बार्सिलोना ५ जहाजमा आगो लागेको मानाडो नौसेना बेसका प्रमुख फर्स्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले बताए । जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोङ्गुआन बन्दरगाहभन्दा अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो ।
जहाजमा रहेका यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न थाले । सिहोम्बिङले उद्धार कार्यमा तटरक्षक जहाज, ६ वटा उद्धार जहाज र धेरै डुङ्गाहरू खटाइएको बताएको छ । उद्धारकर्ताहरूले धेरै मानिसहरूलाई समुद्रमा निकालेर नजिकैका टापुहरूमा लगेका थिए । स्थानीय माझीहरूले छालहरूमा फसेका लाइफ ज्याकेट लगाएका केही जीवित यात्रीको उद्धार गरे ।
आगो लागेको जहाजको क्षमता ६०० जनाको थियो । इन्डोनेसियामा १७ हजारभन्दा बढी टापुहरू छन् । यहाँ यात्राको सामान्य माध्यम हुन् डुङ्गा । तर प्रायः यिनीहरू दुर्घटनामा परिरहन्छन् । कमजोर सुरक्षा प्रणालीलाई यसको लागि प्रायः दोषी ठहराउने गरिएको छ ।




















