सुनसरी । नेपाली काँग्रेस सुनसरी जिल्ला समितिले आगामी साउन ६ गते मनाइने महामानव तथा नेपाली जनतन्त्रका अगुवा बिपी कोइरालाको ४३औँ स्मृति दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। नेपाली काँग्रेस सुनसरीका उपसभापति तथा कार्यक्रम संयोजक नगेशचन्द्र राईले जिल्ला अन्तर्गतका १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताएका छन् ।
संयाेजक राईका अनुसार स्मृति दिवसलाई यसपटक विशेष र फरक ढंगले मनाउने तयारी गरिएको छ। प्रत्येक पालिकामा जनसम्बोधन, विचार गोष्ठी, वृक्षरोपण, रक्तदान, चित्रकला,हाजिरी जबाफ तथा वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरू सञ्चालन हुने जानकारी पनि दिएका छन् ।
ईटहरीमा हाजिरीजवाफ प्रतियोगिता
कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका समितिले साउन ६ गतेका दिन उपमहानगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका कक्षा १० र ११ का विद्यार्थीबीच बिपी कोइरालाको जीवन र योगदानमाथि आधारित हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाका कार्यवाहक सभापति कोबिदजंग कार्कीले जानकारी दिए अनुसार प्रतियोगितामा बिपी कोइरालाको संक्षिप्त जीवनी, राजनीतिक योगदान, २०१५ सालको १८ महिने कार्यकालमा भएका विकासका कामहरू, त्यस अवधिमा स्थापित अन्तर्राष्ट्रिय सम्बन्धहरू लगायतका विषयमा प्रश्नहरू समावेश गरिनेछ।
बीपीको विचार युवा पुस्तामा विस्तार गर्न खोज
कार्यक्रममार्फत् बीपी कोइरालाको योगदानलाई युवा पुस्तामाझ विस्तार गर्न चाहिएको काँग्रेस नेताहरूले बताएका छन्। नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले अहिलेको पुस्तालाई बीपी कोइरालाको दर्शन, विचार र नेपाली काँग्रेसको इतिहास बुझाउने महत्वपूर्ण अवसरको रूपमा स्मृति दिवसलाई लिनुपर्ने धारणा राखे।
भण्डारीले भने, “बीपीलाई काँग्रेसभित्र मात्र राखेर चिन्तन गरिनु हुन्न, उहाँलाई बुझ्नु भनेको समग्र नेपाली राजनीतिलाई बुझ्नु हो। यस कार्यक्रमले बीपीको विचारलाई फराकिलो बनाउने र जातीय, भौगोलिक विविधता भित्र रहेका सबै नेपालीलाई समेट्ने सोचको विस्तार गर्नेछ।”
उनका अनुसार बीपीको समावेशी विचार र लोकतान्त्रिक मूल्य अहिलेका युवाहरूका लागि गहिरो अध्ययनको विषय हो। “आजका विद्यार्थीले बीपीलाई कुनै न कुनै कोणबाट चिनिरहनु स्वयम् विद्यार्थीका लागि फलदायी हुनेछ,” उनले थपे।
नेपाली काँग्रेस सुनसरीले आयोजना गर्न लागेको यो कार्यक्रमले विशेषगरी युवा पुस्तालाई लोकतन्त्रप्रति सचेत बनाउने, बीपीको जीवन दर्शन बुझ्न प्रेरित गर्ने र राजनीतिक चेतनाको विकास गर्ने उद्देश्य राखेको छ। स्मृति दिवसका कार्यक्रमहरू सुनसरीका सबै १२ पालिकामा साउन ६ गतेका दिन बिहानदेखि नै सुरू हुने जनाइएको छ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय तथा प्रदेश नेताहरूको पनि उपस्थिति रहने छ। स्थानीय स्तरमा विद्यार्थी, शिक्षक, बुद्धिजीवी, नागरिक समाज, महिला समूहहरू लगायतको सक्रिय सहभागिता रहनेछ।




















