पूर्वका केही ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । इलाम र झापामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापाको बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा  ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले झापा भई बहने निन्दा खोला, मेची नदी र अरु तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू(भागका केही ठाउँहरुमा तथा बाँकी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज रातिदेखि भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगर्न उहाँको सुझाव छ ।