इटहरीमा असार २० गतेदेखि ३० गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ सम्पन्न भएको छ। प्रतियोगितामा समग्रतर्फ श्री नं.१८ वाहिनी अड्डा प्रथम, श्री नं। २१ वाहिनी अड्डा दोस्रो र श्री नं। २ वाहिनी अड्डा तृतीय स्थानमा रहेका छन्। आयोजित उक्त वार्षिक प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ विधामा खेल सञ्चालन गरिएका थिए।

बक्सिङतर्फ सोमबार सम्पन्न फाइनल खेलमा श्री नं.१८ वाहिनी अड्डाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेको थियो। समग्रमा ३२ स्वर्ण, २२ रजत र ३० कांस्य सहित कुल ८४ पदक जितेर श्री नं.१८ वाहिनी अड्डा समग्र विजेता बन्न सफल भएको हो।

समापन समारोहमा पुर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री गौरव कुमार के।सी।ले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो। ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य शारीरिक क्षमता अभिवृद्धि गर्दै अनुशासित तथा सक्षम सुरक्षाकर्मी उत्पादन गर्नु रहेको उपरथी श्री गौरव कुमार के।सी।ले बताउनुभएको छ ।

कार्यक्रममा  २, १८ र २१ नं.बाहिनी अड्डाका बाहिनीपति, गणपति, गुल्मपति तथा अन्य उच्च सैनिक अधिकृतहरू सहित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, सहायक रथी मणिकुमार श्रेष्ठ, महासेनानी मदनजंग राणा, सहायक रथी गौरव गुरुङ लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल र व्यवस्थापकसहित करिब ४८६ जनाको सहभागिता रहेको पुर्वी पृतना मुख्यालयले जानकारी दिएको छ।