निर्माण सुरु भएको १७ वर्षपछि झापा र मोरङ जोड्ने रतुवा खोलामाथिको पुल उद्घाटन भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच पुलको उद्घाटन गरेका हुन् । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयबाट गौरीगन्ज–आमबारी सडकखण्डमा पुल निर्माण भएको हो । तर, विगत लामो समयदेखि निर्माणमा ढिलासुस्ती हुँदा काम पूरा भएको थिएन ।

पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘‘पुल सञ्चालनमा आएपछि अब दक्षिणी झापा र मोरङका बासिन्दालाई निकै सहज भएको छ,’’ उनले भने ।

यो पुल ओलीको निर्वाचन क्षेत्रमा पर्छ । करिब डेढ दशकयता पुल अलपत्र थियो । झन्डै दुई वर्ष अगाडि पश्चिमतर्फको भागमा पुलको बाँकी भाग निर्माण गरिएको थियो । अधुरो ७५ मिटरको पुलको तीनवटा स्पान निर्माणको जिम्मा देव एन्ड सायर–समता–आशिष सन्दीप जेभीले पाएको थियो । मोरङतर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिएको छ । ७५ मिटर पुल थप गर्न २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको थियो । ०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का थियो । अब पुलको लम्बाइ २८० मिटर भएको छ । रतुवा खोलामा झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटर तटबन्ध पनि निर्माण भएको छ । रतुवा खोलामा पुल बनाउन २०६५ सालमा ठेक्का लागेको थियो । तर, २०५ मिटर पुल निर्माण भइसकेपछि अलपत्र परेको थियो ।