अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ ईयू र मेक्सिकोमाथि ३० प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमाध्यममार्फत मेक्सिकोकी राष्ट्रपति र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई लेखिएका दुई फरक पत्र सार्वजाननिक गर्दै ट्रम्पले यो घोषणा गरेका हुन् ।

यो कर आउँदो महिनाको पहिलो दिन ९सन् २०२५ अगस्ट १०देखि लागु हुनेछ । ट्रम्पको यो निर्णयले अमेरिकाको व्यापारिक सम्बन्धमा ठूलो प्रभाव पार्न सक्छ । किनभने, ईयू र मेक्सिको अमेरिकाका दुई ठूला व्यापारिक साझेदार मानिन्छन् ।

मेक्सिकोका निम्ति लेखिएको पत्रमा ट्रम्पले भनेका छन्, “मेक्सिकोले अमेरिकामा अवैध आप्रवासी र फेंटानिलजस्ता लागुपदार्थको तस्करी रोक्न केही हदसम्म सहयोग गरेको मैले स्वीकार गरेको छु । तर, मेक्सिको उत्तर अमेरिकालाई ‘लागुपदार्थ तस्करीको खेलमैदान’ बन्नबाट रोक्न असफल भएको छ । त्यसैले अब ३० प्रतिशत ट्यारिफ लगाउनु आवश्यक भएको छ ।”

युरोपेली संघका निम्ति लेखिएको पत्रमा ट्रम्पले भनेका छन्, “ईयूलाई अमेरिकासँगको उनको व्यापार सन्तुलन पूर्ण रूपमा एकतर्फी छ र अमेरिकालाई हानि पुर्‍याइरहेको छ । त्यसैले मैले भनेको छु– हामीसँग वर्षौंसम्म वार्ताको समय थियो, तर युरोपेली संघको ट्यारिफ र गैरट्यारिफ नीतिहरूले व्यापारमा असमानता बढाएको छ । अब अमेरिकाले यी नीतिहरूबाट बाहिर निस्कनुपर्ने समय आएको छ ।”