इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलद्वारा सामाजिक सञ्जालमार्फत पत्रकारितामाथि दिएको अपमानजनक अभिव्यक्तीको चर्को विरोध गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । (हिजो)मंगलबार साँझ महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले प्रेस विज्ञप्ती जारी गर्दै, मेयरको अभिव्यक्तीलाई “प्रेस स्वतन्त्रताको विरुद्धमा गरिएको गम्भीर प्रहार” भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
शुक्रबार बिहान मेयर पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न प्रकाशन गर्ने’ प्रवृत्तिको भएको भन्दै टिप्पणी गरेका थिए। उनको उक्त स्टाटस सार्वजनिक भएपछि पत्रकार महासंघ गम्भीर भएको थियो ।
मेयर पौडेलले गम्भीर बिषयलाई अपुष्ट ढंगले प्रस्तुत गर्नु पदीय मर्यादाविपरीत रहेको महासंघको ठहर छ । पत्रकारको धर्म आलोचना र प्रश्न गर्ने हो, अपमान होइन। महासंघले पहिलो चरणमा पाँच वटा बिरोधको कार्यक्रम सार्वजनिक गर्दै मेयर पौडेललाई सच्चिन वा आरोप प्रमाणित गर्न चुनौती दिएको छ । महासंघले प्रेस स्वतन्त्रतामाथि गरिएको यस्तो गैरजिम्मेवार अभिव्यक्तिको “घोर भत्र्सना” समेत गरेको छ।
महासंघले चेतावनी दिंदै भनेको छ,यदि मेयरले पत्रकारितालाई अपमान गर्ने कार्य रोक्नुभएन भने प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरुले थप आन्दोलन चर्काउने जनाएको छ ।





















