मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडाले पारिवारिक सम्बन्धलाई हिंसात्मक मोडमा पुर्याएको छ । अंश विवाद ज्यानै लिने घटनामा परिणत भएको हो । यही असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।
टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच पुर्ख्यौली सम्पत्तिको बँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टंकले एकलौटी कब्जा जमाउन खोजिरहेका थिए । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टंक आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




















