यस वर्ष मनसुनको एक महिनामा विभिन्नप्रकारका विपतबाट ३० जनाको मृत्यु भएको छ । गत जेठ १३ देखि असार १३ गतेसम्म विभिन्नप्रकारका विपतबाट ३० जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । बाढीबाट चार जना र भारी वर्षामा परेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर तीन जना, हावाहुरीबाट एक जना, जनावरको आक्रमणबाट आठ जना, लेक लागेर चार जना, सर्पदंशबाट दुई जनाको मृत्यु भएको छ । विपत्जन्य घटनामा परेर १४४ जना घाइते भएका थिए भने ९८६ परिवार प्रभावित बन्न पुगेका थिए । एक महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा सात जना, कोशीमा छ जना, गण्डकी र लुम्बिनीमा पाँच–पाँच जना, सुदूरपश्चिममा तीन जना र कर्णालीमा एक जनाको मृत्यु भएको हो । उक्त अवधिमा ६४४ वटा विपत्का घटना
भएका थिए । मनसुन छिटो भित्रिए पनि त्यसको प्रभाव कमजोर रहेकाले विपत्जन्य ठुला घटना नभएको प्राधिकरणका प्रवक्ता सुरेश सुनारले जानकारी दिनुभयो । अझै मनसुन अवधि दुई महिना बाँकी रहेकाले यस वर्षको प्रतिकार्य योजना पूर्ण सतर्कतासाथ पालना गर्न उहाँले आग्रह गर्नुभयो । गत वर्षको मनसुनको यसै अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट मात्र ८४ जनाको मृत्यु भएको थियो ।




















