कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उनको राजीनामा माग गरेको छ। मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको माओवादी केन्द्रले आरोप लगाएको हो।

आज  बसेको कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत रहेको र उनकै नाममा रहेको क्युआर कोडबाट कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको सार्वजनिक भएको बताए।

सांसद किरातीले ‘कोशीका पर्यटन मन्त्रीज्यूको क्युआर आतङ्क, रकम नबुझाउनेलाई सरुवा गर्न खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेका छन्,’ भन्दै यस प्रकरणले बजेट निर्माणमा समेत बिचौलियाको संलग्नता रहेको आफ्नो दलको पुरानो आशंकालाई पुष्टि गरेको दाबी गरे।