बौद्धधर्म गुरु तथा निर्देशक जोङसार खिन्से रिम्पोछे खिन्से नोर्बुको आगामी फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड्’ राखिएको यो फिल्मको महिनौं लामो छायांकन गतसाता सकिएको छ ।निर्माताले सार्वजनिक गरेको पहिलो झलकमा कमलमणी नेपाललाई ‘क्यारेक्टर लुक्स’मा देख्न सकिन्छ । उनले हाँकिरहेको मोटरसाइकल पछाडि निर्देशक नोर्बु चढेका छन् । अर्को फोटोमा रविन्द्रसिंह बानियाँ र कमलसँग निर्देशक देखिएका छन् ।
नेपाली लेखक सम्राट उपाध्यायको पुस्तक ‘अरेस्टिङ गड इन काठमाडौँ’को छोटो कथा ‘द लिम्पिङ ब्राइड’बाट रूपान्तरित यो फिल्मले राम नामक पात्रलाई चित्रण गर्छ, जो एक मध्यम उमेरका बहुरुपिया हुन् । एक परम्परागत कलाकार जसले काठमाडौँ वरपरका विवाह र भोजहरूमा देवता र अन्य व्यक्तित्वको नक्कल गर्छन् । जब उसको श्रीमती मायाको अचानक मृत्यु हुन्छ, रामले एउटा यस्तो संकटको सामना गर्छ जसबाट ऊ बाहिर निस्कन सक्दैन । उसकोे साथमा उनको मदिरा सेवन गर्ने, बेरोजगार छोरा मोती हुन्छ, जो एक महत्वाकांक्षी अग्रगामी फोटोग्राफर हो ।




















