राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले मानसरोवर जान आएका विदेशी  पर्यटकको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् । आइतबार  बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

यति बेला मानसरोवरको सिजन भएको भन्दै उनले संसारभरबाट त्यहाँ जान नेपालमा मानिस आइरहेका उल्लेख गरे । “यति बेला मानसरोवरको सिजन हो,” उनले भने, “संसारभरबाट मानसरोवार जानका लागि नेपालमा मानिसहरू आइरहनुभएको छ ।”

मानसरोवर जान आएका करिब तीन हजार विदेशी पर्यटक हाल नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेका उनले बताए । “चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरू नेपालका विभिन्न नाका, काठमाडौंमा पनि ठूलाठूला होटेलहरूमा ७०—८० जनाको समूहसमूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरूलाई छेक्ने काम भएको छ,” उनले भने ।