अमेरिकी खर्बपति व्यापारी एलन मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रिएको केही हप्तापछि उनले यो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले ‘अमेरिका पार्टी’  स्थापनाको घोषणा गरेका छन्  । यो पार्टीले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने उनको भनाइ छ ।  तर, यो पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ वा छैन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । पार्टीको ढाँचा कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्नेबारे पनि मस्कले कुनै जानकारी दिएका छैनन् ।

ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी सुरु गर्ने सम्भावनाको संकेत दिएका थिए । शनिबारसम्म सङ्घीय निर्वाचन आयोगले औपचारिक रूपमा कुनै पनि दल दर्ता गरेको सङ्केत गर्ने जानकारी प्रकाशित गरेको छैन । २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावमा एलन मस्क ट्रम्पका प्रमुख समर्थक थिए । ट्रम्पलाई जिताउन उनले २५ करोड डलर दान समेत गरेका थिए ।