पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।

कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् । कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरेका छन् ।

आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहाबले जानकारी दिए । घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।