इटहरीः नेपाली सेनाको पूर्वी पृतना द्वारा आयोजित पृतनापति ट्रफि २०८२ आज(शुक्रबार) एक समारोहका बीच सुरु भएको छ। कार्यक्रमको उद्घाटन पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले गर्नुभएको छ ।

सैनिक अनुशासन र खेलकुदलाई जोड्दै आयोजना गरिएको यस ट्रफिमा फुटबल, भलिबल, बास्केटबल, स्वीमिङ, बक्सिङ, पौडी, जुडो र तेक्वान्दो गरी आठ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिता असार ३० गतेसम्म संचालन हुनेछ। 

उक्त ट्रफिमा श्री नं. २, श्री नं. १८ र श्री नं. २१ बाहिनी अड्डाहरूको सहभागिता रहनेछ। प्रतियोगिता सम्बन्धित बाहिनी अन्तर्गतका गण, गुल्म तथा अन्य इकाइबीच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा पृतनापति उपरथी केसीसँगै २, १८ र २१ नं. बाहिनी अड्डाका बाहिनीपति, गणपति, गुल्मपति तथा अन्य उच्च सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो। समारोहले सैनिक अनुशासन र खेलकुदको संयोजनमार्फत सेना भित्रको एकता, अनुशासन र स्वास्थ्य सुदृढीकरणमा केन्द्रित सन्देश दिएको पृतनापति उपरथी केसीले बताउनुभयो।

नेपाली सेनाले यसअघि पनि यस्ता ट्रफिहरू निरन्तर आयोजना गर्दै आएको जानकारी दिएको छ। सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको बताएको छ।

सेनाले पृतनापति ट्रफि ले खेलाडीहरूमा सामूहिक भावना विकास गर्न, खेलकुदमार्फत मित्रता सुदृढ गर्न र उत्कृष्ट खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने लक्ष्य लिएको जानकारी दिउको छ।