प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्। विदेश भ्रमणको सिलसिलामा स्पेन पुगेका ओलीले म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित अन्तरक्रियामा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

स्पेन र पोर्चुगलबाट आएका करिब ४० जना कार्यकर्तासँगको छलफलमा ओलीले अहिलेको सरकार दुई प्रमुख दलबीचको सहकार्यमा बनेको र सत्ता हस्तान्तरणमा कुनै अन्योल नरहेको बताए। ओलीले भनेका छन्, “दुई वर्षको नेतृत्वको कुरा भए पनि त्यो अवधि पूरा हुन नपुग्दै पनि देउवाजीलाई जिम्मेवारी सुम्पन तयार छु।”

प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार प्रधानमन्त्री ओलीले सत्ता साझेदारीलाई २०४६ सालको लोकतान्त्रिक आन्दोलनको भावनासँग तुलना गर्दै वर्तमान सहकार्यलाई स्थायित्वका लागि गरिएको कदमका रूपमा व्याख्या गरे।

प्रवासी नेपालीहरूलाई शुभकामना दिँदै ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेकालाई सन्देश दिएका छन् भने अस्थायी रूपमा रहँदै कठिनाइ भोगिरहेका नेपालीहरूलाई स्वदेश फर्केर कृषि क्षेत्रमा अवसर खोज्न आग्रह गरेका छन्। “बाँझो जमिनमा कृषिको राम्रो सम्भावना छ, धेरै साथीहरू फर्किएर सफल पनि भएका छन्,” गुरुङले ओलीको भनाइ उद्धृत गर्दै बताए।

अन्तरक्रियामा सहभागी केही कार्यकर्ताहरूका अनुसार, ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक भूमिकाबारे केही उल्लेख नगरे पनि कांग्रेस–एमाले गठबन्धनमा भविष्यमा चुनौती आउन सक्ने संकेत गरेका थिए। उनले पार्टीभित्र पनि केही असन्तुलन आउन सक्ने संभावना रहेको तर हालसम्म स्थिति सन्तोषजनक रहेको बताए।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका सचिव हेम शेर्पा, युरोप अध्यक्ष गुरुङ, स्पेन अध्यक्ष केदारनाथ ढुंगाना र पोर्चुगल अध्यक्ष दीपक खत्रीको उपस्थिति थियो।