काठमाडौं,। नेपाली कांग्रेसका नेता तथा ने.वि.संघका पूर्व सभापती गुरु घिमिरेले पार्टीका सांसद तथा व्यवसायी बिनोद चौधरीलाई स्पष्ट शब्दमा प्रश्न गर्दै एक खुला पत्रमार्फत आलोचना गरेका छन् ।
घिमिरेको आलोचना, चौधरीले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा डा. शेखर कोइरालामाथि उठाएका आठवटा प्रश्नप्रति प्रतिवादस्वरूप आएको हो। उनले चौधरीमाथि पार्टीको विधि, विधान र परम्पराको उल्लंघन गर्दै केन्द्रीय सदस्य बन्ने, वरिष्ठ नेताहरूप्रति अवहेलना गर्ने र कांग्रेसको त्याग, निष्ठा र योगदानको उपहास गर्ने गम्भीर आरोप लगाएका छन् ।
पत्रमा घिमिरेले प्रश्न गरेका छन्, के तपाईं पार्टीको विधि, प्रक्रिया र मापदण्ड पुर्याएर केन्द्रीय सदस्य बन्नुभएको हो त? उनले चौधरीको पार्टी प्रवेश र पदस्थापनलाई ‘पाश्र्व प्रवेश’ भनिंदै यो प्रजातान्त्रिक पार्टीमा अपाच्य भएको बताएका छन् ।
उनले डडेल्धुरामा चौधरीको उम्मेदवारीलाई लिएर बिक्रम खनालजस्ता नेता र कार्यकर्ताको त्याग र लगानीप्रति अपमान भएको उल्लेख गरेका छन् । संघर्ष, योगदान, त्याग र निष्ठाले भरिएको कांग्रेसको इतिहास लेखिन्छ – मात्र धनकुबेरको होइन, घिमिरेले लेखेका छन् ।
घिमिरेले राजनीति र चन्दाबीचको सम्बन्ध स्वीकार गरे पनि चन्दा दिएर नेता बन्ने सोचलाई खारेज गरेका छन् । तपाईंले चन्दा दिनुभयो भने पनि, त्यसका आधारमा नेता बन्नुपर्ने माग गर्नु अनुचित हो, उनी भन्छन् ।
डा.शेखर कोइरालालाई चौधरीले ‘संकिर्ण’ भनेकोप्रति घिमिरेले आपत्ति जनाउँदै भनेका छन्, कोइरालाले त कहिल्यै कसैलाई अपमान गरेका छैनन्, तपाईंले कसरी उनलाई संकिर्ण भन्न सक्नुहुन्छ?
उद्योगीले सम्बद्ध क्षेत्रको मन्त्री हुँदा आफ्नो व्यवसायलाई संरक्षण गर्नु असमाञ्जस्यपूर्ण हुने भन्दै घिमिरेले चौधरीको भूमिकामाथि प्रश्न उठाएका छन् । बिज्ञता देखाएर अधिकारको दुरुपयोग गर्नु उपयुक्त होइन, उनले लेखेका छन् ।
उनी भन्छन्, ूकांग्रेसको सदस्य हुन जेल जानैपर्छ भन्ने होइन, तर तपाईंसँग त्यो संघर्षको निष्ठा छ? पुराना नेताहरूको योगदानको कदर छ? उनले चौधरी प्रति कटाक्ष गर्दै प्रश्न गरेका छन्, के तपाईं ०८४ पछि कम्तीमा पाँच वर्ष चौवन्नी सदस्य भएर चुपचाप बस्न सक्नुहुन्छ?
पत्रको अन्त्यमा गुरु घिमिरे लेख्छन्, विश्वकै डलर अरबपति कांग्रेसमा आउँदा हामीले गौरव गरेका थियौं, तपाईंलाई पार्टीको सम्पत्ति ठानेका थियौं। तर आज तपाईंले पार्टीका सम्मानित नेतामाथि जुन स्तरमा विष बमन गर्नुभयो, त्यसले हामीलाई खेद प्रकट गर्न बाध्य बनायो ।
यो खुला पत्र कांग्रेसभित्रको आन्तरिक बहस मात्र होइन, पार्टीभित्र अनुशासन, आदर्श, निष्ठा र नयाँ अनुहारहरूप्रति रहेको अविश्वासको प्रतिबिम्ब समेत हो। एनि लेख्छन्,चौधरीले यसको जवाफ दिने कि नदिने भन्ने विषय निकट भविष्यमै प्रष्ट हुनेछ। – जय नेपाल




















