मूल्य अभिवृद्धि कर छलीको आरोपमा विराटनगरका एक हार्डवेयर व्यवसायी जेल चलान भएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानी कारागार चलान भएका हुन् ।

विराटनगर १० घर भई विराटनगर ७ हाटखोलामा बस्ने बियानीले विराटनगर ३ मा हार्डबेयर पसल सञ्चालन गर्दै आएका थिए । आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो । कार्यालयका कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो । कार्यालयले गरेको अनुसन्धानमा बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिएको पत्रमा उल्लेख छ । राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३९घ० बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो ।

सोमबार जारी भएको पुर्जी अनुसार उनी मोरङ कारागार चलान भएको राजश्व कार्यालयले जनाएको छ ।