नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु केन्द्रीय समिति बैठकमा तीन भ्रातृसंस्थाको महाधिवेशनको मिति प्रस्ताव भएको छ । महामन्त्री गगन थापाले ती भ्रातृसंस्थामा निर्देशन समितिले महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको मिति केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका हुन् ।
महामन्त्री थापाले नेपाल किसान संघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलका निर्देशन समितिले महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको मिति प्रस्तुत गरेका हुन् ।
महामन्त्री थापाका अनुसार पार्टीमा किसान संघले भदौ ३ गते, थारु संघले असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ गते र तरुण दलले मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत प्रस्तुत गरेका हुन् ।
कांग्रेसले यी सहित ७ भ्रातृसंस्थालाई चैत मसान्तसम्म महाधिवेशन गर्ने समय दिएको थियो । त्यो बेलासम्म उनीहरूले महाधिवेशन गर्न नसकेपछि अहिलेसम्म पार्टीले न उनीहरूको म्याद थपेको छ, न त महाधिवेशन गर्न नसक्ने कार्यसमिति नै भंग गरेको छ ।
पार्टी पदाधिकारी बैठकमा अन्तिम पटक निर्देशन समितिमार्फत महाधिवेशनको मिति पेस गर्ने, त्यो मितिमा महाधिवेशन गर्न नसके स्वतः भंग गर्ने सहमति बनेको थियो । त्यसको निर्णयका लागि केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने सहमति अनुरूप चार भ्रातृसंस्थाले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।




















