इटहरीः सुनसरी जिल्लामा यो वर्ष धान रोपाइँ अपेक्षाकृत नभई सुस्त भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएकोे छ । मध्य असार सम्ममा पनि जिल्लामा जम्मा १३.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो।
सुनसरी जिल्लामा करिब ४,९०९ हेक्टर क्षेत्रफलमा धानखेती गरिदै आएको छ । हालसम्म करिब ६६० हेक्टरमा मात्रै रोपाइँ सकिएको छ। प्रमुख सिंहका अनुसार समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाईले गतिलिन सकेन ।
पानी नहुनु मुख्य समस्या बनेको छ, प्रमुख सिंहले भन्नुभयो, “नहरमा पनि सिमित मात्रामा पानी आएको छ। कतिपय किसानले निजी स्तरमा बोरिङ्गमार्फत रोपाइँ थालेका छन्, तर सबैका लागि त्यो सम्भव छैन।” उहाँले,किसानले भदौको पहिलो सातासम्ममा अधिकांश रोपाइँ सक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
सुनसरीका किसानले विशेष गरी राधा–१२ र रञ्जित जातका धान रोप्ने गरेका छन् । यी जातबाट कठ्ठामा ५ देखि ६ मन धान उत्पादन हुने गरेको प्रमुख सिंहले बताउनुभयो ।




















