इटहरी : सुनसरीको रामधुनी नगरपालिका–७, चतरा–कान्छी चौक सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरा सहित तीन जनाको मृत्यु भएको छ। अरु दुई गम्भीर घाइते भएका छन् । 

शनिबार राति कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नं को अर्को मोटरसाइकलबीच एक आपसमा ठक्कर खाँदा बाबुछोरा सहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी, र अर्को मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उनिहरुलाई घाइते अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनिहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।