इटहरी:कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले लोकतन्त्रको बलियो आधार केवल राजनीतिक दलहरू मात्र नभई स्वतन्त्र र जिम्मेवार पत्रकारीता पनि भएको स्पष्ट पार्नुभएको छ।
नेपाल प्रेस युनियन मोरङ्ग शाखाले आज (मंगलबार) बिराटनगरमा आयोजना गरेको “पूर्वाधार योजनामा लैङ्गिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री राईले पत्रकारीता राज्यको चौथो अंग भएकाले यसलाई पनि मजबुत बनाउन सबै पक्षले गम्भीर रूपमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो।
“लोकतन्त्रमा कहिले काँही तानाशाही प्रवृत्ति उदाउन सक्छ, त्यसको खबरदारी गर्ने र जनतालाई सुचना दिने भूमिका पत्रकारको हो। त्यसैले पत्रकारीता बलियो नहुँदा लोकतन्त्र कमजोर हुन्छ,” मन्त्री राईले भन्नुभयो। उहाँले कोशी प्रदेशको बजेट निर्माण प्रक्रियामा कतै दलाल वा विचौलियाको संलग्नता देखिएको भए त्यसलाई उजागर गर्न आग्रह गर्नुभयो। “सरकारका नीतिहरूमाथि टिप्पणी गर्नु सञ्चार माध्यमको अधिकार हो, तर टिकाटिप्पणीभन्दा यथार्थमा आधारित भएर कलम चलाउनुस्,” मन्त्री राईले पत्रकारहरूसँग आग्रह गर्नुभयो।
कार्यक्रममा उहाँले लैङ्गिक समानता र समावेशी पूर्वाधार विकासका सवालमा पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो।




















