इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् खर्च नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले समेत अनियमिततर्फको बेरुजु देखाएको छ ।
लामो समयदेखि उपमहानगरपालिकामा कार्यरत इन्जिनियर चौधरीमाथि वातावरण प्रदूषण अनुगमन र नियन्त्रणको जिम्मेवारीमा रहँदा व्यापक अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । इटहरी वडा नम्बर १०, ११ र १२ को खनार क्षेत्रमा रहेका ठुला तथा मझौला उद्योगहरूबाट चौधरीले रकम असुली गर्ने, प्रदूषण नियन्त्रणका नाममा “सेटिङ’’ मिलाएर फाइल बन्द गरिदिने र वातावरणीय जाँच रिपोर्टलाई आफ्नो दबाब र प्रभावमा राख्ने गरेको गुनासो स्थानीय बासिन्दाहरुको गुनासो छ ।
स्थानीय रामविलास शाहका अनुसार स्थानीयवासीले गुनासो गर्दा चौधरी नेतृत्वको टोलीले उद्योगहरूलाई कारबाहीको नाटक गर्ने र पछि आर्थिक चलखेलमा फाइल बन्द गर्ने गरेको बुझिन्छ । कतिपय उद्योग कलकारखानाको फैलाएको वातावरणीय प्रदूषणका काराण मानवीय बस्ती, पशुपंक्षी र कृषि बालीमा व्यापक असर परिरहेको छ तर वातावरण शाखाले कुनै ठोस कदम चालेको देखिँदैन ।
स्थानीय नागरिक अभियन्ता तथा वातावरणविद्हरूले उपमहानगरपालिकाको वातावरणीय नीति र त्यसको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएका छन् । उद्योगहरूले वातावरणमा विषालु धुँवा र रसायन उत्सर्जन गर्दा पनि नियमनकारी निकाय मुकदर्शक बनेको र वातावरण शाखा सेटिङमै चलेको दाबी गरेका छन् । यसले नागरिकको स्वास्थ्य र प्राकृतिक स्रोतमा दीर्घकालीन असर पु-याइरहेको स्थानीयको दुखेसो छ ।




















