इटहरी सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जङ्गलमा सोमबार राति कारभित्र हतियार भेटिएको छ ।  जङ्गलको भित्री सडकखण्डमा छाडिएको उक्त कारभित्र मेड इन इङल्याण्ड लेखिएको अत्याधुनिक राइफल फेला परेको प्रहरीले  बताएको  छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार धरानबाट कालाबञ्जारतर्फ गइरहेको कालो रंगको बा ६ च ८४०३ नम्बरको कारलाई राति करिब १ बजेतिर शङ्कास्पद देखिएपछि रोक्न खोजिएको थियो। प्रहरी देख्नासाथ कारमा सवार ४–५ जना व्यक्ति जङ्गलतिर भागेका थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले कारको खानतलासी गर्दा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभएको छ ।

नायव उपरीक्षक खतिवडाले भागेका व्यक्तिहरूको खोजी तीव्र पारिएको र जङ्गल क्षेत्रमा व्यापक सर्च अपरेशन चलाइएको जानकारी दिनुभयो ।  कार र बरामद हतियारलाई महेन्द्रनगर प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । यस घटनाले संगठित आपराधिक गिरोह संलग्न रहेको आशंका पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।