आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट आज सातै प्रदेश सरकारले सार्वजनिक गर्दैछन्। बजेट कार्यान्वयनमा समस्याका कारण बजेटको आकार नबढ्ने सम्भावना छ।

कर्णाली प्रदेश सरकारले केन्द्रबाट अनुदान कम आएकाले बजेटको आकार घट्ने जनाएको छ। बजेट ३१ देखि ३२ अर्बको बीचमा रहने अनुमान छ।

बागमती प्रदेशले बजेट बढाउने तयारी गरेको छ भने लुम्बिनी प्रदेशले घटाउने तयारी गरेको छ। कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।

काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजीवविक्रम शाहले केन्द्रबाट आउने अनुदानमा कमी आएकाले बजेटको आकार खासै नबढ्ने बताए । आकार करिब चालु आर्थिक वर्षकै हाराहारीमा रहने शाहले बताए । उनका अनुसार केन्द्रबाट आउने आउने अनुदान करिब ६४ करोडले कम आएको छ ।