भारतले नेपालको सहमतिबिनै कोसी ब्यारेजमा सिँचाइको बृहत् योजना अघि सारेको छ । परियोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गरी निर्माणको तयारीमा छ । विहारमा हुन लागेको विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परियोजनाको शिलान्यास गर्ने योजना छ ।
भारतको संघीय मन्त्रिपरिषदले गत मार्च २८ मा सिँचाइ सुविधा बढाउन र बाढी व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि सिँचाइ योजना घोषणा गरेको थियो । सिँचाइ लाभ कार्यक्रमअन्तर्गत बिहारको कोसी–मेची अन्तर राज्य लिंक परियोजना अनुमोदन गरेको हो ।
भारतले कोसी ब्यारेजमा रहेको हालकै पूर्वी नहरको संरचनागत क्षमता बढाउँदै महानन्द नदीसम्म विस्तार गर्ने योजना छ । नेपाल–भारत सीमा भएर बग्ने मेची नदीलाई भारतमा महानन्द भनिन्छ । कोसीको पूर्वी मुख्य नहरलाई पुनर्निर्माण गरेर विहारको महानन्द बेसिनमा सिँचाइ विस्तार गर्न अतिरिक्त कोसी पानीको एक भागलाई डाइभर्सनको परिकल्पना गरेको छ । यो नयाँ परियोजना शिलान्यासपछि सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपी लाई राजनीतिक लाभ हुने अनुमान गरिएको छ । परियोजना कार्यान्वयन गर्न ६२ अर्ब ८२ करोड ३२ लाख भारतीय रुपैयाँ लागत अनुमान गरिएको छ ।
उक्त परियोजनामा बिहार सरकारलाई केन्द्रीय सहायताको रूपमा ३६ अर्ब ५२ करोड ५६ लाख भारतीय रुपैयाँ समावेश छ । परियोजना आगामी मार्च २०२९ सम्ममा सम्पन्न हुने कार्यतालिका बनेको ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ ।




















