रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका हुन् । रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो ।
प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, “तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भ्यालु कति छ भन्ने यकिन भएको छैन ।” एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् ।
समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।




















