पोर्चुगल सरकारले अवैधरूपमा बसेका नेपालीलाई आफ्नो देश फर्कन दिएको आदेशबारे नेपाली दूतावासलाई कुनै जानकारी दिएको छैन ।  पोर्चुगलका एक मन्त्रीले ३ हजार २७९ जना नेपालीसहित ३४ हजार आप्रवासीलाई देश छाड्न आदेश दिइएको गत साता सार्वजनिकरूपमा घोषणा गरेका थिए । तर, यसबारे पोर्चुगल सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई हालसम्म कुनै औपचारिक जानकारी दिएको छैन ।

“हामीले पनि मिडियामार्फत ठूलो संख्यामा नेपालीलाई पोर्चुगल छाड्न आदेश दिएकोबारे सुनेका हौं,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बाह्रखरीसँग भने, “यसबारे पोर्चुगलले हामीलाई औपचारिकरूपमा कुनै जानकारी दिएको छैन ।”  पोर्चुगलको कामचलाउ सरकारका मन्त्री एन्टोनियो लिताओ अमारोले गत सोमबार ३४ हजार विदेशीलाई देश छाड्न आदेश दिइएको बताएका थिए । 

पोर्चुगलको एकीकरण, आप्रवासन र शरणार्थी एजेन्सी एआईएमएले उनीहरूले दिएको बसोबाससम्बन्धी आवेदनहरू ‘रिजेक्ट’ अस्वीकार गरेपछि उनीहरूलाई पोर्चुगल छोड्न आदेश दिइएको हो ।  अवैध रहेका आप्रवासी जसले वैध हुन आवेदन दिएका थिए । उनीहरूले पेस गरेको कागजातमा शंका उत्पन्न भएपछि आवेदन अस्वीकृत गरिएको थियो । त्यसपछि उनीहरूलाई पोर्चुगल छाड्न आदेश दिएको हो ।