सुनसरी ।। सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्दै गर्दा गोताखोर डुबेर बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा दंतकाली तालीम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन् । उनीहरू विपदका बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गरिरहेका थिए। यस क्रममा, अक्सिजन सहित नदिमा प्रवेश गरेका ती गोताखोर अचानक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजीकार्य भईरहेको बताएका छन् । उनले भने, ‘बेपत्ताको खोजी कार्यलाई तीव्रता दिएको छ र आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छ ।’ स्थानीय बासिन्दा र सप्तरी र सुनसरी जिल्लाका प्रहरीहरु खोजी कार्यमा संलग्न रहेका छन् ।