सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको संख्यामा वृद्धि भएको जनाएको छ । आज (बिहिवार) वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ। यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको संख्या बढेको पाइएको हो ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवका अनुसार, हालको गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ। उहाँले भन्नुभयो,“यो तथ्यांक सप्तकोशीको लागी सकारात्मक र परिवर्तनको एक संकेत हो ।”
यसअघि, कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ । यहाँ गङ्गेटिक प्रजातिको डल्फिन पाईन्छ । जुन दुर्लभ मानिन्छ । डल्फिन सफा र गहिरो पानीमा बाँच्न मन पराउँछ ।
गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भिमकाली गुल्म तथा हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग प्रदान गरेका थिए। राष्ट्रिय प्रकृती संरक्षणकोष कोशी प्रदेशका प्रमुख बिरेन्द्र गौतमले बोट बेस्ट प्रणली र स्वर बेस्ट प्रणली बाट गणना गरीएको बताएका छन् ।
सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएको थिए, जसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो। त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन र २०२३ र २०२४ मा समानरूपमा १९ वटा डल्फिनको गणना गरेको थियो। आरक्षले डल्फिनकोे संरक्षण र यसको प्राकृतिक आवासको रक्षा गर्न निरन्तर प्रयास गर्ने जानकारी दिएको छ ।




















