इटहरी: लगातारको बर्षाले इटहरीको जनजिवन प्रभावित भएको छ। गए राति देखिनै परेको अभिरल वर्षाले बिहानै काममा निस्कने मानिस, विद्यार्थी, मजदुर र सडक निर्माणमा संलग्न व्यक्तिहरू बढी प्रभावित भएका हुन् ।
विद्यालय जानुपर्ने विद्यार्थीहरूले पनि कठिनाइ भोगिरहेका छन् । विद्यालय जान निस्किएका बालबालिका लाई विद्यालय सम्म पुर्याउन अभिभावक लाई सकस परेको छ । बिहानै काममा निस्कने मजदुर पनि घरमै बस्न बाध्य भएका छन् ।
लगातार पानी परेका कारण इटहरीका सडकहरूमा पानी जम्न थालेको छ। खाल्डाहरू खुल्ला रहँदा ती स्थानहरूमा पानी भरिएर दुर्घटनाको जोखिम बढेको छ। खाल्डाखुल्डीमा पानी पर्दा दैनिक यात्रामा समस्या उत्पन्न भएको छ।
बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै इटहरी उपमहानगरपालिकाले स्थानीय जनतालाई सचेत गराएको छ । उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर (६ का वडा अध्यक्ष दिवस पोख्रेलले इटहरीका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । पोख्रेलले खोला, पैनी छेउमा बसोबास गर्दै आएका स्थानिय लाई सुरक्षीत स्थानमा जान र आवश्यक तयारी गर्नका लागि आग्रह गरेका छन्। मनसुनको समयमा बर्षा सामान्य भएतापनि यसले दैनिकी जनजीवनमा असर पारेको छ। हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।




















