काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेको पाण्डेले बताए ।
निलम्बनपछि उनले भने, ‘यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ।’ निलम्बनको जानकारी पत्र मंगलबार दिउँसोमात्रै पाएको उल्लेख गर्दै उनले पत्रबाट आफू स्तब्ध भएको बताए ।
व्यक्तिगत रूपमा आफूले कुनै गल्ती नगरेको विश्वास दाबी गर्दै उनले निलम्बनबारे मूल्याङ्कन गर्ने अधिकार आम जनतासँग रहेको उल्लेख गरे। “मैले राम्रो गरेँ कि नराम्रो गरेँ भन्ने कुरा मलाई केही भन्नु छैन, आम जनताले मूल्याङ्कन गर्नुहोला,’ उनले भने।
६ महिने निलम्बनपछि उनको सबै जिम्मेवारी खोसिएको छ ।




















