सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने इच्छा व्यक्त गरेका छन् । लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए । पहिले पनि लामिछानेलाई सरुवा हुन चाहेरनचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।

कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

‘अहिले पार्टीका नेताहरु र परिवारसँग भेटघाटका लागि समेत अफ्ठ्यारो हुने भएपछि कारागार सरुवाबारे छलफल भएको थियो’, रास्वपा स्रोतले पनि भन्यो, ‘काठमाडौंमा भेटघाटका लागि समेत सहज हुने अपेक्षा हो ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो ।

‘अहिले सरुवाका लागि उहाँहरुले जिल्ला अदालत, रुपन्देहीबाट समेत अनुमति लिइसक्नु भएको छ’, ती अधिकारी अनलाइनखबरसँगले भने, ‘कारागार प्रशासनसँगै सरुवाका लागि जिल्ला प्रशासन कार्यालयको समेत आदेश आवश्यक पर्छ, त्यो सबै प्रक्रिया सकिएर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाइएको छ ।’

विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने स्रोतले अनलाइनखबरसँग बताएको छ । डिल्लीबजार कारागार स्रोतले पनि पूर्वगृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि तयारी थालिएको बताएको छ ।