इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले दुग्ध उत्पादनमा संलग्न किसानलाई लक्षित गरी व्याज अनुदान कार्यक्रम ल्याउने घोषणा गर्नुभएको छ । आज(आईतबार) इटहरी स्थित दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आयोजना गरेको २५औँ अन्तर्राष्ट्रिय दूध दिवस कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले किसानले लिएको ऋणको ब्याज पाँच बर्षसम्म प्रदेश सरकारले बेहोर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो,“कृषि क्रान्तिबाट मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव छ, त्यसैले प्रदेश सरकार कृषि व्यवसायप्रति पूर्ण रूपले सजग छ ।”मन्त्री भण्डारीले दुधक्षेत्र कृषि पेशाको सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेको जिकिर गर्नु भएको छ । उहाँले लाखौं जनताले आफ्नो जीवन दुध उत्पादन बाट नै चलाई रहेको बताउनु भयो । उहाँले भन्नु भयो,“हामीले यस क्षेत्रमा गरेको प्रयास पर्याप्त त छैन, हामी ब्यवसायीक र बजारीकरण गर्न कोशीस गरिरहेका छौं ।”
२५औँ अन्तर्राष्ट्रिय दूध दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। दुग्ध क्षेत्रले पोषण, खाद्य सुरक्षामा र्पुयाएको योगदान र किसानको जीविकोपार्जनमा खेलेको भूमिकाको सम्मानमा यो दिवस मनाउने गरिन्छ।
दूध विश्वभरका करिब एक अर्ब मानिसको आहारको मुख्य अङ्ग हो। नेपालमै पनि दुग्ध क्षेत्रले कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान र्पुयाएको छ। तथ्याङ्क अनुसार, नेपालमा वार्षिक करिब २ अर्ब १० करोड लिटर दूध उत्पादन हुने गरेको छ, जसमा लाखौँ कृषकको जीवनयापन निर्भर छ।




















