छिमेकी मुलुक भारतमा कोभिडका संक्रमित देखापरेपछि विभिन्न जिल्लाका सीमामा सतर्कता अपनाउन थालिएको छ । यसै सिलसिलामा पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा स्वास्थ्य सतर्कता अपनाउने निर्णय गरेको हो ।
“कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा जाँच थप प्रभावकारी बनाउने र आवश्यक निगरानी तथा स्वास्थ्य सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय भएको छ,” प्रजिअ अर्यालले भने ।
भारतीय भूमिबाट प्रवेश गर्ने यात्रुलाई लक्षित गरी स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने उनले जानकारी दिए । उनले भने, “आवश्यकताअनुसार उक्त हेल्थ डेस्कमा सुरक्षाकर्मीलगायत जनशक्ति समेत खटाई व्यवस्थित रूपमा स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।”
बैठकले अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन अनुरोध गरेको छ । त्यस्तै, जटिल प्रकृतिका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा रिफर नगर्न पनि अनुरोध गरेको छ । रासस




















