प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले गाजामा २९ बच्चा तथा बृद्धहरूको भोकमरीका कारण मृत्यु भएको बताएका छन् ।  अन्य हजारौँ व्यक्ति अहिले पनि जोखिममा रहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

११ हप्ताको नाकाबन्दीपछि इजरायलले खाद्यान्न बोकेका ट्रकहरू गाजा प्रवेश गर्न दिएपछि बिहीबार गाजाबासीहरूलाई खाद्यान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, प्यालेस्टिनी तथा मानवीय सहयोग निकायहरूले यो खाद्यन्न आवश्यकताको तुलनामा सानो अंश मात्र भएको बताएका छन् ।

“हालैका दिनहरूमा भोकमरीका कारण हामीले २९ जना बच्चा गुमायौँ,” प्यालेस्टिनी स्वास्थ्य मन्त्री माजेद अबु रमादानले पत्रकारहरूलाई भने । उनले यो संख्यामा बृद्धहरू पनि भएको बताएका छन् ।

यूएनको मानवीय सहयोग प्रमुखले समयमा सहयोग नपुगे १४ हजार बच्चाहरूको ज्यान जानसक्ने बीबीसीलाई बताएकोमा प्रतिक्रिया माग्दा उनले भने, “१४ हजारको संख्या धेरै यथार्थपूर्ण छ । यो आंकलनको तल्लो बिन्दु हो ।” 

इजरायलले मार्चमा सबै खाद्यन्न आपूर्तिमा नाकाबन्दी लगाएको थियो । यो महिनाको सुरुमा, विश्वभरिका मानवीय सहयोग संस्थाहरूले गाजा पट्टीमा पाँच लाख मानिस भोकमरीको अवस्थामा रहेको  बताएका थिए ।  अबु रमादानले गाजाका ३६ वटा अस्पतालमध्ये केवल सात वा आठवटा मात्र आंशिक रूपमा संचालनमा रहेको बताए । नाकाबन्दीका कारण ९० प्रतिशतभन्दा बढी चिकित्सा सामग्री सकिएको बताए ।रोयटर्स