पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् । 

स्रोतका अनुसार राजधानीको एक होटलमा ज्ञानेन्द्रलाई भेट्न सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का राजावादी नेता केशर बहादुर विष्ट पुगेका थिए । सो क्रममा के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन । 

स्रोतका अनुसार भेटको विषयलाई पूर्वराजाले गोप्य राख्न चाहेकाले पनि भेटमा सहभागीहरु खुल्न चाहेका छैनन् । यसबारे राप्रपाका अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सम्पर्क गर्दा सम्पर्कमै आएनन् ।