नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए । 

क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा धेरै विवाद

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा चर्को विवाद देखिएको निष्कर्ष समितिको आज बसेको बैठकले निकालेको छ । सदस्य स्नेहीका अनुसार काठमाडौँ, बारा, सर्लाही, ओखलढुङ्गा खोटाङ, सिराहा, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासीलगायतमा चर्को विवाद देखिएको छ ।  काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको एउटा पालिकाका तीन वडामा विवाद छ । 

चर्को विवाद भएकाका जिल्लामा समितिका सदस्यहरू स्थलगत गएर मिलाउने प्रयास गर्ने स्नेहीले बताए ।