इटहरीः सुनसरीको कोशी गाउँपालिकामा निर्माण भइरहेको अत्याधुनिक सुविधासम्पन्न सिटी हलको काम अन्तिम चरणमा पुगेको छ । कोशी गाउपालिका वडानम्बर—१ लौकहीमा निर्माण भइरहेको सिटी हल, यो प्रदेशकै ठुलो र अत्याधुनिक सुविधासम्पन्न रहेको छ ।
सिटी हल १८ कठ्ठा क्षेत्रफलमा फैलिएको कोलनीभित्र पाँच कठ्ठा दुई धुरमा निर्माण गरिएको छ। २०७६ साल असारमा सुरु गरिएको यो परियोजनाको ९० प्रतिशत काम सम्पन्न भईसकेको अध्यक्ष अन्सारीले बताउनु भएको छ ।
उहाले भन्नुभयो, “पाँच सयदेखि सात सय जनासम्म अट्ने यस हलमा सरकारी कार्यक्रम, गोष्ठी, सेमिनारसहित स्थानीयवासीहरूले विवाह र व्रतबन्धजस्ता सामाजिक कार्यक्रमहरू पनि गर्न सक्नेछन्।” उहाँले, हलको सञ्चालनले क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ, ठुला कार्यक्रम आयोजना हुँदा आन्तरीक पर्यटनको प्रवद्धन समेत हुने बताउनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा विराटनगरस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइले यस परियोजनाको कार्य थालनी गरेको हो। सिटी हलमा दुई वटा सभाहल रहेका छन्, जसमा एकले पाँच सय र अर्कोले तीनसय जनासम्मको क्षमता राख्दछ।
यस हलमा चमेनागृह, अतिथिका लागि बैठक कक्ष, र पार्किङ स्थलको व्यवस्था पनि गरिएको छ। कुल ३२ करोड ५० लाख ३९ हजार ९२ रुपियाँको बजेटमा निर्माण गरिएको यो टाउन सिटी हल गौरी पार्वती, ए.एन के, बंगलामुखी जे.भी. जस्ता ठेकेदार कम्पनीद्वारा सम्पन्न भइरहेको छ।




















