म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो ।

म्यान्माको  ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ गरयो र देशको बागडोर सम्हाल्यो । त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास गर्यो । अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ ।

स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे ९स्थानीय समय अनुसार० विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७।७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ ।

‘अहिलेसम्म २२ जनाको मृत्यु पुष्टि भएको छ,’ विद्यालयमा कार्यरत ३४ वर्षीया एक शिक्षिकाले भनिन् । ‘हामीले बालबालिकालाई छरिएर बस्न आग्रह गरेका थियौं, तर लडाकु विमानले धेरै छिटो बम खसाल्यो ।’

सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै रहेको पुष्टि गरे । जुन्टातर्फबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन ।