इटहरी । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भएपनि नेपाली समाजको मानसिकता पुरानै रहेको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी यूनियन कोशी प्रदेशले आज(शनिबार) सुनसरीको इटहरीमा आयोजना गरेको पाँचौं प्रदेश सम्मेलनमा बोल्दै सिटौलाले,“हाम्रो मानसिकता केन्द्रीकृत एकात्मक नै रहेको बताउनु भएको हो।”
उहाँले नेपालको सांस्कृतिक मान्यता पनि पुरानै सामन्तवादी संस्कारमा आधारित रहेको उल्लेख गर्नुभएको छ,“हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन”भन्नुभयो। उहाँले संघीयतामा जानु भनेको संघीयताको मर्मअनुसार कार्यान्वयन इमानदारीका साथ गर्नुहो भन्ने कुरामा जोड दिनुभयो।
सिटौलाले दुई ठूला पार्टी, एमाले र काँग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेको बततउनुभएको छ। उहाँले भन्नुभयो, “अब सबै दलहरूले एक पटक छलफल गर्ने बेला आएको छ।” साथै, उहाँले संघीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कत्तिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबैदलले एकपटक सोच्न आवश्यक रहेको बताउनुभयो।
नेपाल निजामती कर्मचारी यूनियन कोशी प्रदेशले इटहरीमा आयोजना गरेको पाँचौं प्रदेश सम्मेलनमा प्रदेश भरीका कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननिय रामहरी खतिवडा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव कोईराला,राजिव ढुंगाना लगायतको उपस्थीती रहेको थियो ।




















