इटहरी । इटहरीमा जारी पहिलो अन्तरपालिका सभापतीकप फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिका सेमिफाइनलमा प्रबेश गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज (बिहीबार) सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा मोरङको बेलबारी नगरपालिकालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा प्रबेश गरेको हो । 

निर्धारित समय दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो । 

पेनाल्टीमा धरानको तर्फबाट मिजश आङबुहाङ, अमृत गजमेर, प्रज्वल थापा र कप्तान तपन कार्कीको प्रहार गोलमा परिणत भयो, भने सबिन राई र अजय विष्टको प्रहार बेलबारीका गोलकिपर अजय परियारले रोकेका थिए । बेलबारीको तर्फबाट पेनाल्टी प्रहार गरेका विवेक पौडेल, आशिष बिक र मिलन थापाले गोल गरे । मौसम लिम्बु र अजय परियारको प्रहार धरानको गोलकिपर प्रवीण लिम्बुले बिफल बनाए । सन याख्याको प्रहार आकासियो ।

यसअघि खेलको १२ औँ मिनेटमा प्रशान्त विकले गोल गरेर बेलबारीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा धरानका बिकु राईले गोल फर्काएपछि खेल बराबरीमा आयो । त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट थप गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । खेलको म्यानअफद म्याच धरानका गोलकिपर प्रवीण लिम्बु घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । शुक्रवारको तेस्रो क्वाटर फाइनल खेल इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिका बिच हुने आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका ८ पालिकाको सहभागीता छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन गरेको प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ५५ हजार रुपैया नगद प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै बिधागत उत्कृष्ट हुनेले नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।