इटहरीः शिक्षा ऐन जारी गर्न माग गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको आन्दोलनले विद्यालय बन्दहुँदा इटहरीका विद्यार्थी सहित अभिभावकमा तनाव सृजना भएको छ ।
आन्दोलनको कारण सामुदायिक विद्यालय बन्दहुनु तर निजि विद्यालयको कक्षा सञ्चानहुँदा विद्यार्थी र अभिभावकमा तनाव सृजना भएको हो ।
इटहरी—१० का योगेन्द्र पौडेलले लगातारको विद्यालय बन्दले तनाव सृजना गरेको बताएका छन् । उनले विद्यार्थीमा समेत नकरात्मक असर पर्न थालेको बताए । आफ्नो दुई सन्तान इटहरी—९मा रहेको जनता माध्यमीक विद्यालयमा पढ्दै आएका छन् । कक्षा ५ र कक्षा ७ उत्तीर्ण गरेर कक्षा ६ र कक्षा ८ मा पुगेका उनिहरु शिक्षकको आन्दोलनले विद्यालयनै जान पाएनन् । उनले भने,“छिमेकिका छोरा छोरी निजि विद्यालयमा गईरहेका छन् आफ्नो भने खेलेर दिन काट्छन् , निजि विद्यालयमा पढाउन सकिन्दैन छोरा छोरीले पढ्नै बिर्शेलान् भन्ने पिर भो ।”
इटहरीकै एक स्थानीय विद्यार्थी, रोहित चौधरी, जसले कक्षा ८ उत्तीर्ण गरेर ९ कक्षामा प्रवेश गर्नु पर्ने हो, तर उनि विद्यालय जान पाएका छैनन् । उनी विद्यालय बन्द हुँदा धेरै चिन्तित छन्। “हाम्रो विद्यालय पनि बन्द छ। निजी विद्यालयहरू खुलिसकेका छन्, तर सरकारी विद्यालय कहिले खुल्छ थाहा छैन,“ उनले भने। रोहित जस्तै धेरै विद्यार्थीहरूको दिनचर्या घरको काम गर्न र साथीहरूसँग खेलेर बितिरहेको छ ।
स्थानीय अभिभावक, राधा घिमिरे, जसका दुई छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन्, विद्यालय बन्द हुँदा उनी पनि चिन्तित छन्। “पैसाको कमीका कारण हामी निजी विद्यालयमा पठाउन सक्दैनौं। हाम्रो छोराछोरीले यसरी घरमै समय बिताउँदा उनीहरूको भविष्यमा असर पर्न सक्छ,“ उनी बताउँछिन्।
इटहरीका अन्य विद्यार्थीहरू पनि विद्यालय खुल्ने प्रतीक्षामा रहेका छन्। कक्षा ५ का विद्यार्थी, सन्तोष थापा, भन्छन्, “हामीले नयाँ कक्षामा जानु पर्नेहो , तर विद्यालय बन्दछ ।” उनीहरू प्रायः कबड्डी र फुटबल खेल्दै समय बिताउने बताउछन् । पढाइको कमीले उनीहरूको मनस्थिति प्रभावित भइरहेको बताएका छन् ।
आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरू विशेष रूपमा विद्यालय बन्दको समस्या भोगिरहेका छन्। इटहरीका स्थानीय नेता, मन्दिप भट्टराई, भन्छन्, “शिक्षकहरूको आन्दोलनले गरीबका छोराछोरीको शिक्षा प्रभावित गरिरहेको छ। सरकारले यसको चाँडै समाधान खोज्नुपर्नेछ।”
इटहरी उपमहानगरपालिकामा ३६ वटा सामुदायिक विद्यालयमा १७ हजार ८ सय ६८ विद्यार्थीहरु अध्ययनरत छन् । लगातारको शिक्षक आन्दोलनले उनिहरु पढ्न पाएका छैनन् ।
विद्यार्थी र अभिभावकहरू विद्यालय खुल्ने पर्खाइमा छन्। शिक्षक आन्दोलन चाँडो समाप्त हुने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने आशा गर्दै उनीहरू विद्यालय खुल्ने प्रतिक्षामा छन् ।




















