बुद्धहाङ्ग लिम्बु
इटहरी :आदिवासी (भुमिपुत्र) थारु सुमदायको पौराणिक सिरुवा पर्व,नयाँ बर्ष सँगै सुरु भएको छ । बर्षको सुरुवात महिना बैशाख भरी उनिहरु तराईका विभिन्न स्थानमा बनाइएका ग्रामथानहरुमा आफ्नो पौराणिक सिरुवा पर्व मनाउने गर्दछन् ।
सुनसरी जिल्लाको इटहरीमा पनि सिरुवाको अवसरमा ग्रामथानहरुमा विशेष रितले पूजा आज (सोमबार) बाट सुरु भएको छ । पुजा पछि ति थानहरुमा विशेष मेला लाग्ने गर्दछ, जहाँ थारु समुदायका परिवारहरु दशै तिहारमा जस्तै गरी नयाँ लुगा लगाएर घुम्ने र मेला भर्ने गर्छन् । इटहरी उपमहानगरपालिकाको पहिलो जातिको रुपमा रहेको थारु समुसदाय सिरुवा पर्व लाई बिषेश रुपमा मनाउने गर्दछन् । यहाँ थारु समुदायको १५ वटा ग्रामथान रहेका छन् ।
पर्वको अवसरमा लाग्ने मेलामा विभिन्न खाले खानेकुराहरु विक्रिका लागी राख्ने गरिन्छ । यस मेलामा जुलेवी विशेष आकर्षक बन्ने गर्दछ । अर्को तर्फ छोरीचेलीहरुलाई टिका,चुरा,धागो किनेर दिने परम्परा रहेको इटहरी—५ मेला भर्न आएका सुनिल चौधरीले बताए ।
सिरुवा पवर्का अवसरमा विभिन्न ठाँउका ग्रामथानमा गएर पुजाआजा गरी रोगव्याध नलागोस भनेर कामना गर्ने, त्यसै गरी छालाका रोगहरु नलागोस् भनेर वैगुनको भार चढाउने प्रचलन रहेको ग्रामथानका पुजारी सतिस चौधरीले बताए । उनले कतिपय ग्रामथानहरुमा भाकल अनुसारका बोका, हाँस, कुखुरा, परेवाको वली समेत दिने प्रचलन रहेको बताएका छन् । थानमा आफ्ना बालीनालीको राम्रो उत्पादनको कामना गर्दै विधिपूर्वक पूजाआजा गर्छन्, जसले उनीहरूको कृषिमा महत्त्वपूर्ण राख्ने बताए ।
सुकदेव चौधरीले ग्रामथानको ऐतिहाँस महत्वसंग जोडीएको यो पर्वमा थारु समुदायका मानिसहरुले विभिन्न ग्रामथानमा जल चढाउने र त्यसैको जलले आफ्ना सन्तानको सिरमा लगाई सन्तानको दिर्घायुको कामना समेत गर्ने गरेको बताए । उनले साना मानिसहरुलाई माया गर्ने सम्मान गर्ने र ठूलाले आशिर्वाद दिने भएकाले यसलाई जुर सित्तल पर्व पनि भन्ने गरेको बताए । पर्वमा आफन्तहरुसँग पान, सुपारी साटासाट गर्ने एक सांस्कृतिक पर्वका रुपमा समेत लिने गरीएको वताउछन् ।
भूमीपुत्र भनेर चिनिने थारुहरु विशेष गरी खेती किसानीको काममा व्यस्त हुने भएपनि पछिल्लो समय अन्य पेशा व्यवसायमा संलग्न हुन थालेपछि सिरुवाको साँस्कृतिक महत्व भने कमजोर हुन थालेको इटहरीका तेजनारायण चौधरीको भनाई छ । उनले भने, “ग्रामथानहरुको संरक्षणको अभावमा पनि सिरुवाको परम्परा हराउँदै गएको बताए । सिरुवा पर्व थारु समुदायको सांस्कृतिक र धार्मिक जीवनमा गहिरो महत्व राख्ने पर्व हो ।”




















