सर्लाहीको चन्द्रनगर गाउँपालिका –२ स्थित बबरगन्ज पर्ती बजारमा जातीय समावेशिताको अनुपम उदाहरण प्रस्तुत गर्दै दलित र गैरदलित समुदायले संयुक्त रूपमा ‘सीताराम महायज्ञ’ आयोजना गरेका छन् । सामाजिक समरसताको यो प्रयास धार्मिक आस्थाभित्र एकताको गहिरो सन्देश बोकेर अघि बढिरहेको छ ।
सवरी कुटी हनुमान मन्दिर परिसरमा सञ्चालन भइरहेको महायज्ञमा सहभागी सबैलाई जातका नाममा कुनै अवरोध छैन । होमका क्रममा चरु हाल्ने कार्यमा मुसहर जस्ता परम्परागत रूपमा पछाडि पारिएका दलित समुदायका व्यक्तिहरू सक्रिय रूपमा सहभागी छन् ।
महायज्ञको नेतृत्व पासवान समुदायका मनोज पासवानले गरिरहेका छन् भने आयोजनाको संरचना नै समावेशी छ—१० जना दलित र ५ जना गैरदलित सदस्य मिलेर समिति निर्माण गरिएको छ । चरु हाल्ने जिम्मा दलित र गैरदलित दुवै समुदायका तीन–तीन जना व्यक्तिलाई दिइएको छ । महायज्ञमा सहभागी बिघु माझी, शिवजी माझी, चलित्तर दास, रामप्रताप महतो, रामवीर राय र रामनन्दन महतो जस्ता व्यक्तिहरूले जातीय भेदभावको अनुभूति नभएको बताएका छन् । “यहाँ सबै काम समान रूपमा बाँडिएको छ, म दलित हुँ भन्ने अनुभूति नै छैन,” बिघु माझीले सुनाए ।




















